नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीय खेलमा केन्यालाई १७ रनले पराजित गर्दै नेपालले एक खेल अगाबै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले भने देव खनालले ३७ रन बनाए । त्यस्तै सोमपाल कामी २६ रन बनाई आउट भए भने ज्ञानेन्द्र मल्लले २५ रन जोड्दा वसिर अहमदले १७ र आदील अन्सारीले १४ रन बनाए । केन्याका लागि भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले समान २-२ विकेट लिए ।
२३१ रनको लक्ष्य लिएर मैदान उत्रेको केन्या ४६ ओभर ३ बलमा अलआउट हुँदै २१३ रनमा समेटिएको थियो । केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय पारी खेलेपनि घरेलु टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कोलिन्स ओबुयाले ३७ रन बनाए भने नेल्सन ओधियाम्बोले २८ र गेरार्ड मुथुईले २० रन जोडे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, आदील अन्सारी र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले केन्याविरुद्ध तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ । यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।