साफ महिला च्याम्पियनसिप आजबाट, नेपाल भुटानविरुद्ध खेल्दै

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप सुरु हुँदैछ । आज (मंगलबार) देखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् ।



सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । नेपाली टोली आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा छ भने भुटान पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताए । भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिए ।

नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । आज भुटान विरुद्ध पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल श्रीलंकासँग भदौ २८ गते खेल्ने तालिका रहेको छ ।

 

सम्बन्धित समाचार