नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-० को शानदार जित निकालेको हो ।
नेपाललाई शानदार जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । भारी वर्षाले पहिलो हाफको खेल प्रभावित भएको थियो । खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले थप ३ गोल गरेको थियो ।
सावित्राले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६८ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाईन् । त्यस्तै खेलको ७३ औं मिनेटमा अनिताको गोल मार्फत नेपाल ३-० ले अघियो रह्यो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा अनिताले खेलको ८५ औं मिनेटमा गोल गर्दै नेपाललाई ४-० गोलको शानदार जित दिलाईन् । अनिता खेलको वुमन्स अफ द म्याच चुनिईन् ।
महिला साफ च्याम्पियनसिप फुटबलमा आज बुधबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् भने साँझ ५:३० बजे हुने दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् ।
सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल श्रीलंकासँग भदौ २८ गते खेल्ने तालिका रहेको छ ।