नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई शानदार जित दिलाउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाती र ओसुमाने डेम्बेलेले समान १-१ गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो खेलमा उत्कृष्ट खेल खेल्दै बार्सिलोनाले ४ गोल गरेको थियो । खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यस्तै खेलको ८६ औं मिनेटमा फातीको गोल मार्फत बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए । त्यसअघि खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केही समय रोकिएको थियो ।
जितसँगै बार्सिलोना ५ खेलमा १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने अंक विहीन कार्डिज भने तालिकाको पुछारमा रहेको छ । त्यसैगरी स्पेनिस ला लिगा फुटबल अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले हराएको छ ।