नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपाललाई फराकिलो जित दिलाउन अमिषा कार्कीले दुई गोल गर्दा कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले समान १-१ गोल गरे । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाईन् । यस्तै खेलको १७ औं मिनेटमा अमृताको गोल मार्फत नेपाल ३-० ले अघि रह्यो ।
त्यसैगरी पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपाल पहिलो हाफमा ४-० को अघि रह्यो । यसैगरी खेलको ७४ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा अमिषाले गोल गर्दै नेपाललाई ६-० को शानदार जित दिलाईन् ।
जितसँगै नेपाल २ खेलमा ६ अंक जोड्दै समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको हो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले हराएको थियो । त्यस्तै २ खेलमा ३ अंक जोडेको भुटान समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।