बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने योजनामा नेपाल

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।

महिला साफको १२ वर्षे इतिहासमा यसअघि समूह चरणमा मात्रै प्रतिस्पर्धा गर्दै आएका नेपाल र बंगलादेश आज भने पहिलो पटक उपाधिको लागि भिड्न लागेका हुन् । आजको खेलबाट नयाँ टिमले उपाधि जित्नेछ । लगातार भारतले जित्दै आएको यो उपाधि आज भने नयाँ च्याम्पियन टोली बन्न दुवै टिमको लागि खेल महत्वपूर्ण रहनेछ । यसअघि पाँच संस्करणसम्म लगातार भारतले उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश भने १ पटक उपविजेता बनेको इतिहास छ ।



तर, यसपटक पनि उपाधि जित्ने योजनामा रहेको भारत भने सेमिफाइनलबाटै घर फर्किएको छ । दोस्रो सेमिफाइनलमा नेपालले ऐतिहासिक जित निकाल्ने क्रममा भारतलाई १-० ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशले पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको थियो । नेपाल आज घरेलु मैदानमा उपाधि जित्ने योजनाका साथ मैदान उत्रदैछ भने बंगलादेश पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

यसअघिको नतिजा हेर्ने हो भने हालसम्म नेपाल र बंगलादेशले ८ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नेपालले ६ खेल जित्दा २ खेल भने बराबरीमा सकिएको छ ।

सम्बन्धित समाचार