नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । सोमबार भएको खेलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि चुमेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा बंगलादेशलाई उपाधि दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गर्दा शामसुनाहरले एक गोल गरिन् । नेपालको लागि भने अनिता बस्नेतले सान्त्वना गोल गरिन् । खेलको १४ औं मिनेटमा शामसुनाहरले मोनिका चक्माको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाईन् ।
पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफको ७० औं मिनेटमा अनिताको गोल मार्फत खेल २-१ को स्थितिमा आयो ।अनिताले अमिषा कार्कीको पासमा गोल गरेकी थिइन् । तर, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् । जितसँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बन्दा नेपाली फेरि उपविजेता मै सिमित भएको छ । नेपालले पहिलो पटक बंगलादेशसँग पराजित भएको हो । यससँगै नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।