नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले पाहुना टोली इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो ।
पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान मोईन अलिले अविजित रहँदै ५५ रनको अर्धशतकिय पारी खेले भने बेन डुकेटले ४३ रन बनाए । त्यस्तै ह्यारी ब्रुक्स ३१ रन बनाई आउट भए भने फिलिप साल्टले ३० रन जोडे । पाकिस्तानका लागि हरिस राउफ र शाहनवाज दहानीले समान २-२ विकेट लिए भने मोहम्मद नवाजको भागमा १ विकेट रह्यो ।
२०० रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९ ओभर ३ बलमा विकेट नगुमाउँदै पूरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर अजामले अविजित रहँदै ११० रनको शतकीय पारी खेले भने मोहम्मद रिजवानले अविजित रहँदै ८८ रनको अर्धशतकीय पारी खेले । जितसँगै ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । यी दुईबीचको तेस्रो टी-ट्वान्टी आज हुनेछ ।