नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।
पाकिस्तानविरुद्धको तेस्रो टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो ।
पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुक्स र बेन डुकेटले अर्धशतकीय पारी खेल्दै क्रमश: ८१ र ७० रनमा अविजित रहे । त्यस्तै विल ज्याक्स ४० रन बनाई आउट भए भने डेभिड मलानले १४ रन जोडे । पाकिस्तानको लागि उस्मान कादिरले २ विकेट लिए भने मोहम्मद हुसाईनको भागमा १ विकेट रह्यो ।
२२२ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मसुदले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै खुसदिल शाहले २९ तथा मोहम्मद नवाजले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्यान्डका लागि मार्क उडले ३ विकेट लिए भने आदिल रसिदले २ विकेट लिँदा साम करन र रिच टोप्लेको भागमा समान १-१ विकेट रह्यो । जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । यी दुई टोलीबीचको चौथो टी-२० आइतबार हुनेछ ।