नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो ।
नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गरे भने बंगलादेशको लागि सजाद होसेनले सान्त्वना गोल गरे । खेलको १८ औं मिनेटमा विमल घर्ति मगरको फ्रिकिकमा अञ्जनले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा अञ्जनले खेलको २७ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
यस्तै खेलको ३८ औं मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । विशाल राईको फ्रिकिकमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । पहिलो हाफ ३-० मा सकिएको खेलमा दोस्रो हाफमा बंगलादेशले १ गोल फर्कायो । खेलको ५६ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए । त्यसपछि थप समयमा गोल हुन सकेन र खेल नेपालले ३-१ ले आफ्नो पक्षमा पार्यो । यद्यपि सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
अञ्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् भने उनको राष्ट्रिय टोलीका लागि यो १० औं गोल हो ।यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । अञ्जन खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।