नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० सिरिज इंग्ल्यान्डले जितेको छ । आइतबार राति भएको अन्तिम तथा निर्णायक खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ४-३ ले जितेको हो ।
पाकिस्तानको गद्दाफी स्टेडियम लाहोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि डेभिड मालनले अविजित रहँदै ७८ रनको अर्धशतकीय पारी खेले भने ह्यारी ब्रुक ४६ रनमा अविजित रहे । त्यस्तै बेन डुकेटले ३० रन बनाई आउट हुँदा फिल साल्टले २० रन जोडे । पाकिस्तानका लागि मोहमद हस्नैनले १ विकेट लिए ।
२१० रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै खुशदिल शाह ३७ रन बनाई आउट भए भने इफ्तिखर अहमेदले १९ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले ३ विकेट लिए भने डेभिड विलिले २ विकेट लिँदा साम कुरान, अदिल रशिद र रीसे टोप्लीको भागमा समान १-१ विकेट रह्यो ।