एलपी पौड्याल
काठमाडौं, २१ कार्तिक ।
एउटा मार्मिक र सान्दर्भिक नीतिकथाबाट विषय प्रवेश गरौं । कुनै समयको कुरा हो । एकजना कवि राजालाई भेट्न दरबार गए । उनले दरबारियाहरूलाई रिझाएर राजालाई भेट्न सफल पनि भए । राजालाई भेट्ने सौभाग्य पाएका कविले राजालाई खुसी पार्न दुई घण्टासम्म राजाको प्रशंसामा अनेक प्रकारका कविताहरू सुनाए । राजाको जय गान गरे । कविका कविताहरू सुनेर राजा पनि प्रफुल्ल बने । आफ्नो प्रशंसाले भरिएका कविता सुनेर खुसीले गदगद बनेका राजाले कविलाई भोलि उचित इनाम दिने घोषणा गरे ।
शाही घोषणाबाट फुरूङ्ग भएका कवि पनि दङ्ग पर्दै घरतिर लागे । राजाले दिने इनामबाट आफ्नो जीवन समृद्ध हुने कुरामा उनी विश्वस्त बन्दै कहिले भोलि होला र राजाको हातबाट इनाम पाइएला भनेर छटपटाउँदै रात बिताउँछन् । हतार हतार दैनिक नित्यकर्म सकेर एकाबिहान उनी दरबारमा हाजिर हुन पुग्छन् तर दरबारका मान्छेले उनलाई खास्सै महत्व दिएको महसुस गर्दैनन् । तैपनि उनी धैर्य गर्दै राजाको प्रतीक्षा गर्छन् । अन्ततः राजासँग भेट हुन्छ । कविलाई एकाबिहानै दरबारमा देखेर राजा उनलाई यति सबेरै दरबार आउनुको कारण सोध्छन् । कवि राजालाई अघिल्ला दिनको घटना स्मरण गराउँदै आफू राजाले घोषणा गरेको इनाम लिन आएको जानकारी गराउँछन् ।
कविको कुरा सुनेर राजा मुसुक्क मुस्कुराउँदै व्यङ्ग्यात्मक शैलीमा भन्छन् ‘हे कविवर, हिजो तिमीले मलाई खुसी पार्न दुई घण्टासम्म मेरो प्रशंसामा लेखिएका अनेक कविताहरू सुनायौ । म खुसी पनि भएँ । अब तिमीलाई खुसी बनाउँने दायित्व मेरो थियो । मैले तिमीलाई इनाम दिने घोषणा गरिदिएँ । मेरो एउटै वाक्यले तिमी पनि खुसीले फुरुङ्ग भयो । यहाँ त एक पक्षले अर्को पक्षलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने कुरा मात्र थियो, लेनदेनको कुरा कहाँबाट आयो र ?’
राजाबाट ठूलै इनामको अपेक्षा गर्दै एउटा समृद्ध जीवनको सपना बोकेर दरबार पुगेका कवि राजाको जवाफ सुनेर झण्डै झण्डै मुर्छा परे । क्षणभरमा नै कविको सपना धूलिसात् भयो ।
यस नीति कथाको सारवस्तु नेपालको राजनीतिसँग ठ्याक्कै मेल खान्छ । अहिले देश चुनावमय बनेको छ । चुनावी घोषणापत्रमा जनतालाई मख्ख पार्न प्रशस्त विकास र समृद्धिका कुराहरू लेखिएका छन् । रातारात जनताको जीवनस्तरको उकासेर मुलुकको कायापलट गर्ने कुराहरू समेटिएका छन् । विचरा जनता उनीहरूको कुरामा विश्वास गरेर विगतमाझैं यसपटक पनि मत दिने छन् । विश्वासको मत प्राप्त व्यक्ति सांसद र मन्त्री बन्नेछन् । अनि लेनदेनको कुरा सकिने छ । चुनावी घोषणापत्रको कुरा सकिने छ । विकास र समृद्धिका कुराहरू सकिने छन् । अनि एउटा पक्षले अर्को पक्षलाई खुसी पार्ने कुरा पनि पाँच वर्षका लागि सकिने छन् । विचरा जनता, पुनः कविको हालतमा पुग्नेछन् । वषौंदेखिको यो चक्र पुनः दोहोरिने छ ।
हिजो पञ्चायतकालमा पनि विकास र समृद्धिका नारा लागेकै हुन् । ‘नेपालको हावापानी सुहाउँदो पञ्चायती व्यवस्था’का पक्षमा शासकहरू बोलेकै हुन् । ‘सबै पञ्च नेपाली र सबै नेपाली पञ्च’ पनि भएकै हुन् । सुधारिएको भनिएको पञ्चायती व्यवस्थामा पनि विकास भएकै हो । अहिलेको गणतन्त्रमा पनि विकास भइरहेकै छ । शासकका आँखाहरूमा मुलुक पहिले पनि समृद्ध नै थियो, अहिले झन समृद्धशाली बनिसकेको छ ।
सत्ताको शीर्ष स्थानमा रहुञ्जेल शासकहरू मुलुकभरि जताततै विकास र समृद्धि मात्र देख्छन् । उनीहरूको दृष्टिकोणमा प्रश्न उठाउने छुट कसैलाई छैन । पत्रकारहरू कहिलेकाहीं उनीहरूको आँखाको कसिँगर बनिदिन्छन् । त्यसैले पञ्चायतकालदेखि अहिलेसम्म पत्रकारहरू (केहीलाई छोडेर) सदैव सरकारको बक्र दृष्टिमा पर्ने गर्छन् ।
सत्ताधारी नेताका कुरा पत्याउने हो भने नेपाल समृद्धिशाली बनिसक्यो । नेपालमा रेल आयो, पानीजहाज आयो, पाइपलाइनबाट घरघरमा ग्यास आयो, मेलम्चीको पानी आयो, नेपाली जनतालाई जे जे चाहिएको थियो– सबै आयो । भ्रष्टाचारी समातिए, व्यभिचारी लखेटिए, चुस्त दुरूस्त कर्मचारीतन्त्र छ, सुशासनका लागि अरू के चाहियो ? सरकारलाई आत्मरतिमा रमाउनका लागि पुग्दो भयो ।
तर नेताहरू जान्न चाहँदैनन् कि उनीहरूको शब्दजालमा परेका आम जनताले के पाए ? उनीहरू बुझ्न चाहँदैनन्, वास्तवमा आम जनतालाई परेको मर्का कहाँ छ ?
भाषणमा र घोषणापत्रमा आएको समृद्धिको लाली थोरै मात्र भए पनि नेपाली जनताको मुहारमा पोतिन पाएको भए नेपाली जनताले थोरै मात्र भए पनि परिवर्तनको प्रत्याभूति अनुभव गर्न पाउँथे होलान् । भोको पेटमा पटुका कसेर राज्यलाई कर तिर्ने दीनहीन जनताले सरकार भएको अनुभव गर्न पाएको भए भविष्यप्रति थोरै आशावादी हुन्थे होलान् तर वास्तविक अवस्था त्यस्तो छैन । हुनेखाने र हुँदाखानेका बीचको दूरी झनझन बढ्दो छ । सरकारको परिवर्तनले जनताको अवस्थामा कुनै परिवर्तन ल्याउन सकेको छैन ।
शासकहरू, शासकका वरिपरि बस्नेहरू र शासकबाट आशीर्वाद पाउनेहरूलाई हिजो पनि मुलुक समृद्धि नै थियो र आज पनि छ । त्यसैले उनीहरू सबैतिर समृद्धि नै समृद्धि देख्छन् । उनीहरूले कहिल्यै अभावको अनुभव गर्नु परेन । समयले शासन फेर्यो, शासक फेर्यो तर संस्कार फेर्न सकेन, आम जनताको अवस्था फेर्न सकेन । यो नै नेपाली जनताको दुर्भाग्यको कारण हो । अवस्था फेर्ने हो भने यस पटकको चुनावमा नेता फेर्ने आँट गरौं । नयाँ र सम्भावना बोकेका उम्मेदवार नभएका हैनन् । योग्य पात्रको चयन गर्न दृढ सङ्कल्प गरौं । जसले नेपाली जनतालाई वर्षौंदेखि ढाँट्तै आएको छ, पुनः उसैलाई यसपटक पनि विश्वासको मत दियौं भने दोषी उनीहरू हैन, हामी आँफैं हुनेछौं । अनि फेरि हामी नीतिकथाको कविजस्तै निरीह बन्न बाध्य हुनेछौं ।