विश्वकप फुटबलमा क्रोएसिया तेस्रो

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसिया तेस्रो भएको छ । शनिबार भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो । यता मोरक्कोले भने विश्वकपमा चौंथो स्थान हासिल गरेको छ ।

कतारको खालिफा इन्टरनेशनल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले समान १-१ गोल गरे भने मोरक्कोका लागि अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।



तर, खेलको नवौं मिनेटमा मोरक्को दारीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा लिभाजाको पासमा सोरिसिचले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए । मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेको थियो । कतार विश्वकपको उपाधिका लागि भने आज (आइतबार) फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार