नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
कतारमा सम्पन्न फिफा विश्वकप फुटबल- २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो ।
कतारको लुसिल स्टेडियममा भएको रोमान्चक खेलमा खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि थप गरिएको एक्स्ट्रा ३० मिनेटको समयमा पनि दुवै टोलीले ३-३ को बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको थियो । जसमा अर्जेन्टिनाले बाजी मार्दै च्याम्पियन बन्यो । पेनाल्टीमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज नायक बने ।
पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे भने फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । फ्रान्सका किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न असफल रहे । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले कोम्यानको पेनाल्टी रोके भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । फ्रान्सका ओसुमाने डेम्बेलेले डिबक्स भित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टी पाएको थियो । जसमा मेस्सीले गोल गरे । यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै खेलको ३६ औं मिनेटमा म्याक एलिस्टरको पासमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ८० औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले सहजै गोल गरे ।
यस्तै खेलको ८१ औं मिनेटमा मार्कुस थुरामको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा खेल २-२ को बर्बरिमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाए । तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी डि बक्सभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो । जितसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको ट्रफी जितेको छ । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । यता फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि थियो ।
व्यक्तिगत विधामा कसले के जिते ?
कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा व्यक्तिगत विधामा समेत अर्जेन्टिनाको वर्चस्व रहेको छ । फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेले गोल्डेनबुट प्राप्त गर्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लियोनेल मेस्सी बन्दै गोल्डेन बल प्राप्त गरे ।
यस्तै अर्जेन्टिनाकै गोलकिपर इमिलियानो मार्टिनेज गोल्डेन ग्लोभ्स पाउँदै अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले फिफा योङ्गेस्ट प्लेयरको अवार्ड हात पारे ।