नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
काठमाडौँमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार विजयी भएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।
किर्तिपुरको टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ६१ रनको अर्धशतकिय पारी खेले भने उपुल थरंगाले ४२ रन जोड्नु बाहेक अन्यले दोहारो अंक छुन सकेनन् ।
लुम्बिनीका लागि शाड्ले क्लाउड भान शाल्कविकले ३ विकेट लिए भने किशोर महतो र गुलसन झाको भागमा समान २-२ विकेट रह्यो ।
१३४ रनको लक्ष्य लएर मैदान उत्रेको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाए भने शाड्ले क्लाउड भान शाल्कविक ३१ रनमा अविजित रहे । यस्तै उन्मुक्त चन्द २२ रन बनाई आउट भए भने अनिल शाहले १९ रन जोडे । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २-२ विकेट लिए भने प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानको भागमा समान १-१ विकेट रह्यो ।
लुम्बिनी ३ खेलमा ३ जित सहित ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा अंक विहिन रहेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ । डबल राउण्डमा हुने यस प्रतियोगितामा ३४ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको । लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।