नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई ३-१ ले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे भने रोड्रीको नाममा १ गोल रह्यो । यता लिड्स युनाईटेडको लागि पास्कल स्ट्रुज्कले एक गोल फर्काए । एकतर्फी बनेको खेलमा हिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५१ औं मिनेटमा हालाण्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६४ औं मिनेटमा हालाण्डको गोल मार्फत म्यानचेस्टर सिटी ३-० ले अघि रह्यो । यस गोलसँगै हालाण्डले इंग्लिस प्रिमियर लिगमा आफ्नो २० औं गोल पूरा गरेका छन् । उनले १४ खेलमा २० गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो २० गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लिड्स युनाईटेडका पास्कलले गोल गरेपनि त्यो ढिलो भैसकेको थियो र खेल म्यानचेस्टर सिटी ३-१ ले विजयी भयो । जितसँगै म्यानचेस्टर सिटी १५ खेलमा ३५ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने १५ खेलमा १५ अंक जोडेको लिड्स युनाईटेड १५ औं स्थानमा रहेको छ ।