नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।
काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार विजयी भएको छ । आज(शुक्रबार) भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीको यो लगातार पाँचौं जित हो भने काठमाडौँको दोस्रो हार ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रनभने लाहिरु मिलन्थाले २५ रन जोडे । त्यस्तै स्याड्ली भान २१ रन बनाई आउट भए भने कुशल भुर्तेलले १९ रन बनाए । काठमाडौंका लागि अजमतुल्लाह ओमरजाईले २ विकेट लिए भने अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलको भागमा समान १-१ विकेट रह्यो ।
१५१ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि अजमतुल्लाह ओमरजाईले ३८ रन बनाए भने कमल सिंह ऐरी १९ रनमा अविजित रहे ।यस्तै सुनाम गौतम १८ रन बनाई आउट भए भने एलेक्स ब्लेकले ११ रन जोडे।
लुम्बिनीका लागि हरमित सिंहले ३ विकेट लिए भने किशोर महतो, स्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै लुम्बिनी ५ खेलमा ५ जित सहित १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ४ खेलमा २ जित र २ हार सहित ४ अंक जोडेको काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
डबल राउण्डमा हुने यस प्रतियोगितामा ३४ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको । लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।