नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा रियल मड्रिड ले रियल भालाडोलिटलाई २-० ले पराजित गरेको हो ।
रियल मड्रिडलाई जित दिलाउन दुबै गोल करिम बेन्जिमाले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेको थियो । खेलको ८३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियलमड्रिडलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई २-० को जित दिलाए । त्यसअघि खेलको ८२ औं मिनेटमा रियल भालाडोलिटका सेर्जियो लोनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियल मड्रिड १५ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने १७ अंक जोडेको रियल भालाडोलिट १५ औं स्थानमा रहेको छ ।