नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
जितसँगै जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा अलआउट हुँदै ६८ रनमा समेटिएको थियो । पोखराका लागि सिद्धान्त लोहनीले १७ रन बनाए भने आसिफ शेख र कुशल मल्लले समान १६-१६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा छुन सकेनन् । जनकपुरका लागि सोमपाल कामीले ३ विकेट लिए भने सरफुदिन असरफ र ललित नारायण राजवंशीको भागमा समान २-२ विकेट रह्यो ।
६९ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि सरफुदिन असरफले ३७ रन बनाए भने कप्तान ट्राभोन ग्रिफिथले १७ रन जोड्दा पवन सराफ ४ रनमा अविजित रहे । पोखराका लागि कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोको भागमा १ विकेट रह्यो ।
जितसँगै जनकपुर ९ खेलमा ६ जित तथा ३ हारसहित १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ भने ६ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । यसअघि जारी संस्करणको पहिलो खेलमा जनकपुरले पोखरालाई पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगमा काठमाडौँ नाईट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
तस्विर – क्यानबाट