नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।
काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्स विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा विराटनगरले काठमाडौं नाईट्सलाई ७ विकेटले पराजित गरेको हो । काठमाडौं नाईट्सलाई पराजित गरेसँगै विराटनगर प्लेअफ प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४-३४ रन बनाए भने सन्दिप रजालीले ३० रन जोडे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २२ र बसिर अहमद १७ रनमा अविजित रहे । विराटनगरका लागि राज नाननले ४ विकेट लिए भने नन्दन यादव र रोहित पौडेलको भागमा समान १-१ विकेट रह्यो ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि कप्तान रोहित कुमार पौडेलले ६६ रनको अर्धशतकी पारी खेले भने गौरान्शु शर्माले पनि अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै हुसेन तलत २१ रन बनाए । काठमाडौंका लागि भने अबिनाश बोहोराले २ विकेट लिए ।
जितसँगै विराटनगरले १० खेलमा ५ जित र ५ हार सहित १० अंक जोड्दै प्लेअफमा स्थान बनाएको छ भने समान खेलमा ४ जित र ६ हार सहित ८ अंक जोडेको काठमाडौंले भने प्लेअफमा स्थान बनाउन आजको दोस्रो खेलको नतिजा कुर्नु पर्नेछ । अहिले दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड भिड्दै छन् । दोस्रो खेलमा पोखरा विजयी भएमा यस खेलमा पराजित सँग अंक बराबर हुनेछ । रन रेटमा अगाडी हुने टोलीले प्लेअफमा स्थान बनाउँने छ । जारी संस्करणको पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगमा काठमाडौँ नाईट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
तस्विर – क्यानबाट