एकदिवसीय विश्वकप छनोट : नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।जिम्बावेमा आइतबारबाट सुरु भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको हो ।

जिम्बावेको हरारे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेल्दै क्रमश: ९९ र ६६ रन बनाए ।  कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके ।



यी दुईले पहिलो विकेटको लागि १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए  । त्यस्तै तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ रन बनाई आउट भए भने रोहितले ३१ रनमा जोडे  ।

यस्तै गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बावेका लागि रिचर्ड नागरभाले ४ विकेट लिए । २९१ रनको लक्ष्य लिएर मैदान उत्रेको जिम्बावेले ४४ दशमलव एक ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको लागि कप्तान क्रेग इर्भिन र सेन विलियम्सले शतकीय पारी खेल्दै क्रमश: १२१ र १०२ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटको लागि अविजित रहँदै १६४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै वेस्ली माधेभेरे ३२ रन जोड्दा जोयलर्ड गुम्बीले २५ रन जोडे । नेपालको लागि सोमपाल कामी र गुलसन झाले समान १-१ विकेट लिए । एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे , वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । त्यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

विश्वकप छनोटको अब नेपालले दोस्रो खेल जुन २० तारिखमा अमेरिकासँग, तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग र आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

सम्बन्धित समाचार