साफ च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३-१ ले पराजित

भारतमा सुरु भएको १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो ।

भारतको काँतीराव स्टेडियममा भएको एकतर्फी कुवेतलाई जित दिलाउन कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले समान १-१ गोल गरे भने नेपालका लागि अन्जन विष्टले सान्त्वना गोल गरे ।



खेलको २३औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ६५औँ मिनेटमा मोहमदको पेनाल्टीमार्फत कुवेत ३-० ले अघि रह्यो । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

त्यसपछि खेलको ६८औँ मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि त्यो दिलो भइसकेको थियो र खेल कुवेतले ३-१ ले आफ्नो पक्ष्मा पार्यो । जितसँगै कुवेतले ३ अङ्क जोडेको छ । साफ च्याम्पियनसिपमा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् । अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ ।

सम्बन्धित समाचार