नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, मलेसिया ८५ रनले पराजित 

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

जितसँगै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो । नेपालको लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय पारी खेले भने सुर्यांशु कोइराला र नरेन भट्टले समान २९-२९ रन बनाए । त्यस्तै दीप भुजेल १५ रन बनाई आउट भए भने निरजकुमार यादव आठ रन जोडे ।



मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान २-२ विकेट लिए भने मोहम्मद फतुलको भागमा १ विकेट रह्यो । १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले २५, कप्तान मोहम्मद आलिफले १५ र मुहम्मद अक्रमले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अशोक धामीले ४ विकेट लिए भने कप्तान अभिषेक तिवारीले ३ विकेट लिँदा सन्तोष यादवको भागमा २ विकेट रह्यो ।

जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो भने हारसँगै मलेसिया समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, मलेसिया र थाइल्यान्ड छन् भने  समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् ।

सम्बन्धित समाचार