नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको दोस्रो प्लेअफ खेलमा युएईले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (आइतबार) सुपर सिक्समा पुग्न असफल दुवै टोलीले प्लेअफ खेलेका हुन् ।
जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा अलआउट हुँदै १८१ रनमा समेटियो । युएईका लागि वृत्य अरबिन्दले ४४ रन बनाए भने रोहन मुस्ताफले ३५ रन जोडे ।
यस्तै बसिल हमिद २९ रन बनाई आउट भए भने आर्यांश शर्माले २८, संचित शर्माले १२ र रमिज शाहजादले १० रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए भने प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल र युएईबीचको खेलमा विजयी हुने टोलीले सातौं स्थानको लागि टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै यस खेलमा पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।