नेपालद्वारा युएई पराजित, सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने  

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । आइतबार भएको खेलमा युएई नेपालसँग ३ विकेटले पराजित भएको हो  ।

जितसँगै नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा अलआउट हुँदै १८१ रनमा समेटियो । युएईका लागि वृत्य अरबिन्दले ४४ रन बनाए भने रोहन मुस्ताफले ३५ रन जोडे ।



यस्तै बसिल हमिद २९ रन बनाई आउट भए भने आर्यांश शर्माले २८, संचित शर्माले १२ र रमिज शाहजादले १० रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए भने प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल र युएईबीचको खेलमा विजयी हुने टोलीले सातौं स्थानको लागि टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै यस खेलमा पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

१८२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ओभरमा ४३ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ७९ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले ३५ रन बनाए । त्यस्तै सन्दीप लामिछाने २३ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले १३ र गुलसन झाले १२ रन जोडे ।

आठौं विकेटका लागि दीपेन्द्रले सन्दीपले मिलेर ७९ रनको अविजित साझेदारी गरेका थिए । युएईका लागि मुहम्मद जवादुल्लाहले ३ विकेट लिए भने रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरको भागमा समान १-१ विकेट रह्यो । अब नेपालले सातौँ स्थानको लागि आगामी मंगलबार आयरल्यान्डसँग खेल्नेछ भने पराजित टोली युएईले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

सम्बन्धित समाचार