सिङ्गापुरलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिको लागि मलेसियासँग खेल्ने 

नेपाल मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खेलमा ३५ ओभरमा ९  विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले क्रमश: ४३ र ४२ रन बनाए । यी दुईले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गरेका थिए ।



त्यस्तै अभिषेक तिवारीले २५ रन बनाई आउट भए भने सन्तोष यादवले १८ रन जोडे । यस्तै दीप भुजेल १२ रनमा अविजित रहँदा प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।  सिङ्गापुरका लागि हरिहरनले ३ विकेट लिए भने हर्ष वेङ्कटरम र कबिर बेर्लियाको भागमा समान २-२ विकेट रह्यो ।

१८५ रनको लक्ष्य लिएर मैदान उत्रेको सिङ्गापुर ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनायो । सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४ रन बनाए भने प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि कार्तिक कामतले ३ विकेट लिए भने सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै नेपालले अब मंगलबार हुने फाइनल खेलमा मलेसियासँग खेल्नेछ । पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि हङकङसँग खेल्नेछ । अर्को सेमिफाइनलमा खेलमा भने मलेसियाले हङकङलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको थियो । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, मलेसिया र थाइल्यान्ड छन् भने  समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका थिए ।

सम्बन्धित समाचार