नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असार ।
मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजल मलेसियालाई २२१ रनको फराकिलो ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बल बलमा दुई छक्का र १० चौकाको मद्दतमा अविजित रहँदै ११२ रन शतकीय पारी खेले भने नीरज यादवले ४७ रन जोडे । त्यस्तै सन्तोष यादवले २६ रन बनाई आउट भए भने सुर्यांशु कोइरालाले १८ र अशोक धामीले ११ रन जोडे ।
मलेसियाका लागि मोहम्मद अक्रमले ३ विकेट लिए भने तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनको भागमा समान १-१ विकेट । २५३ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसिया १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर ५ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरेको भागमा १ विकेट रह्यो ।
सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । यस संस्करणमा नेपाल अपराजित रुपमा च्याम्पियन भएको हो । नेपालले लगातार तेस्रो पटक उक्त उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१७ मा सिङ्गापुरलाई तथा सन् २०१९ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगितामा सात टोलीको सहभागीता रहेको थियो । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, मलेसिया र थाइल्यान्ड छन् भने समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका थिए ।