नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
श्रीलंकाले नेदरल्यान्ड्सलाई पराजित गर्दै जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट खेलको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा विश्वकपमा छनोट हुन सफल दुई टोली श्रीलंका र नेदरल्यान्ड्स उपाधिका लागि भिडेका थिए ।
उक्त खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । श्रीलंकाका लागि सहान अर्राचचिगेले ५७ रनको अर्धशतकीय पारी खेले भने कुशल मेन्डीसले ४३ रन बनाए ।
त्यस्तै पथुम निसन्काले २३, सन्देरा समाराविक्रमाले १९, वानिन्दु हसरङ्गाले २९ र महेश थिकसनाले १३ रन जोडे । नेदरल्यान्ड्सको लागि लोगन भान बिक, रायन क्लिन, विक्रमजित सिंह र सदिक जुल्फिकरले समान २–२ विकेट लिए ।
२३४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्स २३ दशमलव ३ ओभरमा १०५ रनमा नै समेटियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओड्वाडको ३३, भान बिकले २० रनमा अविजित रहँदा विक्रम सिंहको १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकाको लागि महेश थिकसेनाले ४ विकेट लिए भने दिलसान मधुसन्काले ३ विकेट लिँदा वानिन्द्र हसरङ्गाको भागमा २ विकेट रह्यो । विश्वकप छनोटमा नेपाल सहित १० राष्ट्रको सहभागी रहेको थियो ।