एसीसी इमर्जिङ कप : नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित 

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको हो ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रनको अर्धशतकीय पारी खेले भने प्रतिश जिसीले २६ रन बनाए । १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको अवस्थामा यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारीगरेका थिए  ।



त्यस्तै १० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे । यस्तै नेपालको लागि अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन बनाई आउट भए भने गुलसन झाले १३ र आसिफ शेखले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ विकेट लिए भने मोहम्मद वासिम जुनियरले ४ विकेट लिँदा मुबासिर खानको भागमा १ विकेट रह्यो । १८० रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ५१ रनको अर्धशतकीय पारी खेले भने कमरान गुलामले ३१ रन बनाए ।

त्यस्तै सइम अयुब २४ रन बनाई आउट भए भने हसिबुल्ला खानले १२ रन जोडे । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट लिँदा कुशल मल्लको भागमा १ विकेट रह्यो । अब नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सम्बन्धित समाचार