नवराज घिमिरे
काठमाडौं, १२ कात्तिक ।
सधैंझैं नेपाली काङ्ग्रेस पार्टीले यसपाली पनि कोजाग्रत पूर्णिमाको दिन आफ्नो पार्टी कार्यालयको प्राङ्गणमा चियापानको आयोजना गर्यो । आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित चियापान कार्यक्रममा चियापानका अतिरिक्त शीर्ष नेताहरूबीच शुभकामना आदान प्रदान पनि भयो । आवरणमा हेर्दा काङ्ग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू भेट हुँदा कुटाकुट नै गर्छन् कि जस्तो गरी छेडछाड र कटाक्ष गर्ने गरेको भएपनि सार्वजनिक मञ्चमा सामुहिक रूपमा उपस्थित हुँदा देखाएको शिष्टाचारले अनेकताका बीच पनि एकता सम्भव हुन सक्छ भन्ने सन्देश दिएको हुन सक्छ । यद्दपि यो देखावटी मात्र हो ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष खड्गप्रसाद ओली, एस अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति र पुराना र परम्परागत पार्टी मिलेर अगाडि बढे अरू (नयाँहरू) ले नसोचेको उचाइ प्राप्त गर्ने आशयको अभिव्यक्तिले चियापान कार्यक्रममा उपस्थित शुभचिन्तकहरूको भीडमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भए पनि ताली बजाउनेहरूलाई नै यिनीहरूबाट केही होला भन्नेमा विश्वास भएको नहुन सक्छ । यो अविश्वासको आधार उनीहरूको विगत हो ।
विगतमा यिनीहरू म्युजिकल चियरजस्तो आलोपालो सत्ताको सर्वोच्च स्थानमा पुगेकै हुन् । अहिले पनि माओवादी पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल त्यस स्थानमा विराजमान छन् । प्रारम्भमा भ्रष्टाचार र अनियमितताका केही फायल खोलेर उनले केही गर्लान् कि भनेजस्तो गरेको भए पनि आफ्नो बार्गेनिङ पावर बढाएर सत्ताको आयु लम्ब्याउनु बाहेक केही गरेका छैनन् । ती खोलिएका फाइलहरू पनि आफ्नो स्वार्थ सिद्ध भएपछि यथास्थानमा थन्किने छन् भन्ने कुरामा सबै ढुक्क छन् ।
ओलीको कार्यकालमा पनि कामभन्दा बढी बद्नाम नै भयो । देउवाको के कुरा गर्नु ? पाँच पाँच पटक प्रधानमन्त्री हुँदासमेत केही उदाहरणीय काम गर्न नसकेका यिनीबाट अझै पनि केही होला भनेर आशा गर्नु भनेको ‘गोरु ब्याए विगौती खान पाइएला’ भनेर सोच्नु जस्तै हो । त्यसैले चियापान कार्यक्रममा यिनीहरूको उपस्थिति र दिएको अभिव्यक्ति नितान्त औपचारिक हो र नयाँ पार्टीको नेतृत्व गरिरहेका रवि लामिछानेहरूका अगाडि फेस सभिङ मात्र हो ।
विसं २०३३ साल पुस १६ गतेका दिन नेपाली काङ्ग्रेसका संस्थापक नेता विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएपछि काङ्ग्रेसले त्यही ऐतिहासिक दिनको स्मरणमा विसं २०३४ सालदेखि कोजाग्रत पूर्णिमाको दिन चियापानको कार्यक्रम गर्दै आइरहेको छ । प्रत्येक वर्ष बिपी कोइरालाको मेलमिलापको नीतिलाई स्मरण गर्ने काङ्ग्रेसले पार्टीको आन्तरिक जीवनमा र अन्तरपार्टी एकतालाई मजबुत पार्ने सवालमा भने उक्त नीतिलाई अवलम्बन गरेको देखिँदैन । त्यसैले यो एकता र मेलमिलापको चियापान, हात्तीको देखाउने दाँत मात्र भएको छ, दिवंगत बिपीको आत्मालाई झुक्याउने खेलमा मात्र सीमित भएको छ ।
एकता र मेलमिलाप नीति बिपीकालीन नेपालमा जति आवश्यक र महत्वपूर्ण थियो, आज पनि त्यत्तिकै सान्दर्भिक छ । तर, लोकाचारका लागि मेलमिलाप र एकताको स्मरण गरिए पनि त्यसैको अभावमा नेपाली काङ्ग्रेस पार्टी लथालिङ्ग बन्न पुगेकोे छ । पार्टीभित्र गुट र उपगुटले प्रश्रय पाएको छ । पार्टी सभापति शेरबहादुर देउवा स्वयम् नै एउटा गुटभित्र सिमित बन्न पुगेका छन् । जब नेतृत्व व्यक्तिवादी सोचबाट माथि उठ्न सक्तैन, नाम जे राखे पनि यस्ता भेलाहरू नितान्त कर्मकाण्डी मात्र हुन पुग्दछन् ।
आफूलाई लोकतान्त्रिक पार्टी भन्ने काङ्ग्रेसको पार्टी जीवनमा नै लोकतन्त्रको चरम अभाव देखिन्छ । केन्द्रीय कमिटीका पदाधिकारीहरू नै आफ्नो नेतृत्वसँग असहमति भएका कुरालाई खुलेर राख्न सक्तैनन् बरू सामाजिक सञ्जाललाई खुराक दिन्छन् । अनि नेतृत्व बहुमतको आडमा अरूका आवाजलाई सुन्ने र मनन् गर्ने गर्दैन । यी दुबै चरित्र ठीक होइनन् । केन्द्रीय समितिका सदस्यहरूले आफ्ना असहमतिका कुराहरू धुवाँधार रूपमा बैठकमा राख्न सक्नुपर्छ अनि अल्पमतको स्वर भनेर नेतृत्वले पनि उचित आवाजहरूलाई नजरअन्दाज गर्नु हुन्न । अरूलाई नैतिकता र सदाचारको पाठ सिकाउनेहरूले पहिले आफूले आत्मसात् गरेर देखाउन सक्नुपथ्र्यो ।
नेतृत्वले विचार र सिद्धान्तलाई कुल्चेर गुट र गुटगत स्वार्थको पछि दौडँदा पार्टीको शाख कहाँ पुग्ला भनेर पनि सोचिदिएको भए कोशी प्रदेश दुनियाँका लागि रमिता बन्ने थिएन । कोशी प्रदेशको प्रभाव अन्य क्षेत्रमा पनि पर्दै गयो भने यसले पार्टीभित्र र बाहिर कस्तो सन्देश देला ? कमसेकम नेतृत्वले यति मात्र सोचिदिए पनि पार्टीको गरिमा थप क्षयीकरण हुनबाट जोगिने थियो कि !