भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड, अवस्था भयावह

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३ सय ७५ संक्रमित थपिएका हुन् । यो सँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख ८७ हजार १ सय नाघेको छ । जसमध्ये १ लाख ४१ लाख निको हुँदा ८ हजार १ सय संक्रमितले भने ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा कोरोनाबाट ३ सय ८८ व्यक्तिको मृत्यु भएको छ ।

भारत विश्वमा सर्बाधिक संक्रमित देशको सूचीमा अहिले छैठौँ थानमा छ । ऊभन्दा अगाडि अमेरिका, ब्राजिल, रुस, बेलायत र स्पेन छन् ।अमेरिकामा संक्रमितको संख्या २० लाख ६६ हजार नाघ्दा १ लाख १५ हजारको मृत्यु भएको छ । त्यस्तै, त्यहाँ अहिलेसम्म ८ लाख ८ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २० हजार ८ सय संक्रमित थपिँदा ९ सय ८२ जनाको मृत्यु भएको छ ।



त्यस्तै, पछिल्लो समय तीव्र गतिमा कोरोना फैलिरहेको ब्राजिलमा संक्रमितको संख्या ७ लाख ७५ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा ३३ हजार १ सय नयाँ संक्रमित थपिँदा १ हजार ३ सयले ज्यान गुमाएका छन् ।ब्राजिलमा कोरोनाबाट मृत्यु हुने कुल संख्या ३९ हजार ७ सय नाघ्दा ३ लाख ८० हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट विहीबार बिहानसम्म ७४ लाख ५१ हजार ५ सय व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये ३७ लाख ३३ हजार ३ सय व्यक्ति निको हुँदा ४ लाख १८ हजार ८ सय संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचार