नेपालका प्रधानमन्त्रीले भारतले राखेको वार्ता प्रस्ताव बेवास्ता गरे : हिन्दुस्तान टाइम्स

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता लम्ब्याउन भारतले राखेको वार्ताको प्रस्तावलाई बेवास्ता गर्दै नयाँ नक्शा जारी गरेको आरोप लगाएको छ । उक्त आरोपसहित पत्रिका हिन्दुस्तान टाइम्सले ‘इन्डिया ह्याड अफर्ड डाइलग टू नेपाल अन रो ओभर म्याप ह्वाई पीएम ओली इग्नोर्ड इट’ नामको शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

आज प्रकाशित हिन्दुस्तान टाइम्सको उक्त समाचारमा भारतले परराष्ट्र सचिवस्तरीय वार्ताका लागि अनुरोध गरे पनि प्रधानमन्त्री ओलीले वार्तामा बस्न नचाहेको उल्लेख गरेको छ । पत्रिकाले आफ्नो समाचारमा दाबी गर्दै लेखेको छ कि, प्रधानमन्त्री ओलीका कारण भारतसँग तत्काल वार्ता हुन नसकेको र ओलीले आफ्नो सत्ता लम्ब्याउन नयाँ नक्सा ल्याएको हो ।



नेपालले अहिले अद्यावधिक गरेको नक्शामा भारतको उत्तराखण्ड र विहार राज्यका केही भूभाग पनि परेको पत्रिकामा उल्लेख गरिएको छ ।

पत्रिकाले आफ्नो समाचारमा भनेको छ, ‘नेपाली जनताको विचारमा प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो पद जोगाइराख्नका लागि संविधान संशोधनलाई प्रयोग गरिरहेका र मे महिनाको शुरुवातमै उनीमाथि प्रधानमन्त्री पद छोड्न व्यापक दबाव परेको थियो ।’

ओलीलाई संविधान संशोधन गर्दा भारतसँगको कूटनीतिक छलफल अफ्ठ्यारोमा पर्ने सुझाव दिँदा दिँदै पनि उनले आफ्नो पद जोगाउनका लागि नक्शा विवाद अघि सारेको समाचारमा उल्लेख गरिएको छ ।

पत्रिकाले समाचारमा वार्ताको वातावरण बिगार्न प्रधानमन्त्री ओली नै सक्रिय भएको समेत दाबी गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयको उच्च स्रोतको हवला दिँदै छापिएको समाचारमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री ज्ञवालीका अभिव्यक्तिलाई पनि बनिबनाउ जस्तो देखाउन खोजिएको छ ।

सम्बन्धित समाचार