बंगलादेशका धार्मिक मामिलाका जुनीयर मन्त्री शेख अब्दुल्लाको कोरोना भाइरसका कारण निधन भएको छ । ७५ वर्षका अब्दुल्लाको शनिवार राती निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनका सहयोगी खालिद महमुद चौधरीले उनमा श्वासप्रशवासमा समस्या रहेको जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल अस्पताल लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गराउँदा आज रिपोर्ट पोजेटिभ आएको हो ।
यसैबीच यो भन्दा अगाडि पनि पूर्व स्वास्थ्य मन्त्री मोहम्मद नसीमको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । कोरोनाको उपचार गराइरहेका उनको ढाकस्थित अस्पतालमा मृत्यु भएको थियो । उनी सन् २०१४ देखि २०१९को बीचमा स्वास्थ्य मन्त्री रहेका थिए । १ जूनमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको र अस्पतालमा भर्ना गरिएको थियो । उनी बाहेक अन्य दुई मन्त्री पनि कोरोना संक्रमणको शिकार भएका थिए ।
उनीहरुको अहिले अस्पतालमा उपचार भईरहेको छ । बैगलादेशमा यो समाचार तयार पार्दासम्म १ हजार १७१ जनाको मृत्यु भएको छ भने ८७ हजार ५२० जनालाई संक्रमण भएको छ । त्यहाँ १८ हजार ७३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३२ जनाको मृत्यु भईसकेको छ भने ३ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन् ।