नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सर्रिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालमा गोप्य भेट भएको बताईएको छ ।
प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले नवाज सर्रिफ भारतसँग मिलेको आरोप लगाउँदै भनेका छन्, ‘यो भन्न सक्दिन कि नवाज सर्रिफ पाकिस्तान विरोधी हुन् । तर उनी एक संर्किण सोचका व्यापारी हुन् । के पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्रीसँग भेट्छ । नवाजले आफू प्रधानमन्त्री छँदा नेपालको राजधानी काठमाडौंमा मोदीसँग गोप्य भेटघाट गरेका थिए । उनले यस भेटको जानकारी विदेश मन्त्रालयलाई पनि दिएका थिएनन् ।’
भ्रष्टाचार मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले २०१७ मा दोषी ठहर गरेपछि नवाजले प्रधानमन्त्री पदबाट राजिनामा गरेका थिए । प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलको यो भनाईलाई लिएर भारतीय सञ्चारमाध्यमले विभिन्न खाले टिकाटिप्पणी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय नवाज सर्रिफ गत वर्षको नोभेम्बरदेखि लण्डनमा उपचार गराइरहेका छन् । सर्रिफविरुद्ध बेलायतमा पक्राउ पुर्जी जारी गराउने ईमरान नेतृत्वको पाकिस्तान सरकारको योजना सफल हुन सकेको छैन । गिललाई उदृद गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सर्रिफले भारतीयसँग बैठक गरेका थिए ।’
दुई दिनअघि मात्रै त्यहाँका प्रधानमन्त्री इमरान खानले भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर बनाउने कोसिसमा सर्रिफ लागेको आरोप लगाएका थिए ।