नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
कोरोनाभाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिङ्गापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ । आर्थिक सङ्घर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ । महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण चाहिँ सार्वजनिक भएको छैन ।
बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिङ्गापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो । सिङ्गापुरमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ । कोरोनाभाइरस महामारीलाई लिएर गरिएको लकडाउनका बेला फिलिपिन्स र इन्डोनेशियाजस्ता छिमेकी देशमा गर्भवती हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि हुनसक्ने बताइँदै गर्दा सिङ्गापुरमा त्यसको विपरीत अवस्था देखिएको छ ।
‘कोभिड-१९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको हामीले प्रतिक्रिया पाएका छौँ,’ सिङ्गापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले सोमवार भने। महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए ।
सिङ्गापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १०,००० अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ । सन् २०१८ मा सिङ्गापुरमा प्रजननदर आठ वर्षयताकै सबैभन्दा कम अर्थात् प्रतिमहिला १.१४ थियो ।
धेरै एशियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोनाभाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ । यसै वर्षको आरम्भतिर चीनमा प्रजननदर ७० वर्षअघि चिनियाँ जनगणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । निकै आलोचित ‘एक सन्तान’ नीतिमा खुकुलोपन ल्याइए पनि त्यस्तो समस्या देखिएको हो ।
तर सिङ्गापुरका केही छिमेकी देशमा उल्टो खालको समस्या देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार फिलिपिन्समा यदि महामारी नियन्त्रणका लागि हिँडडुलमा प्रतिबन्धहरू यो वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहनेछ ।
‘यो सङ्ख्या आफैँमा एउटा महामारी हो,’ फिलिपिन्सस्थित राष्ट्रसङ्घीय निकायका प्रवक्ता ऐमी सान्तोसले गत महिना भनेका थिए । दक्षिणपूर्वी एशियाली मुलुकमध्ये फिलिपिन्सको जनसङ्ख्या दोस्रो ठूलो अर्थात् १० करोड ८४ लाख छ ।
फिलिपिन्स यो क्षेत्रकै कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकमा पर्छ। त्यहाँ हालसम्म ३,०७,००० जना व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।