नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (सोमबार) भएको खेलमा नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गर्यो ।
किर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन बनायो । नेपालको लागि आसिफ शेखले ४३ रन बनाए भने रोहित कुमार पौडेलले ३४ रन जोडे । त्यस्तै आरिफ शेख ३१ रन बनाई आउट भए भने कुशल भुर्तेलले २० रन जोडे । पीएनजीको लागि चार्ल्स अमिनी,अलेइ नाओ र चाड सोपरले समान २-२ विकेट लिए भने नोरमान भानुआ र रिले हेकुरेको भागमा समान १-१ विकेट रह्यो ।
१८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजी १९.२ ओभरमा १६८ रनमा समेटियो । पीएनजीको लागि नोरमान भानुआले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सेसे बाउ ३० रन बनाई आउट भए भने चार्ल्स अमिनीले २२ र लेगा सियाकाले २१ रन बनाए । नेपालको लागि सन्दीप लामिछाने र कारण केसीले समान ३-३ विकेट लिए भने अविनाश बोहराको भागमा २ विकेट रह्यो । यस्तै सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध सिरिज क्लिन स्विप गरेको पीएनजी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा भने पराजित भएको छ । यता घरेलु टोली नेपाल पनि एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला लिएको छ । पछिल्लो खेल हेर्ने हो भने नेपाल र पीएनजी सन् २०१५ मा आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा खेलेका थिए । जसमा नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । आज देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ ।