नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (सोमबार) किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले करण केसी ३३ रनमा नट आउट रहे । त्यस्तै आसिफ शेख २९ रन बनाई आउट भए भने कुशल भुर्तेलले २५ रन जोड्दा आदील आलमले १५ रन बनाए । पीएनजीको लागि सेमो कामेअले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरे र राइले हेकुरेको भागमा समान १-१ विकेट रह्यो ।
आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रनेछन् । घरेलु टोली नेपाल समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिने योजनमा रहेको छ । यसअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पाहुना टोली पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।
नेपालले ४ खेलमा ४ जित निकाल्दै ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने ४ खेलमा १ जित र ३ हारसहित पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पीएनजीले मलेसियालाई रनरेटमा पछि पार्दै नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाले पनि ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको थियो । समूह चरणको दुवै खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा १५ रनले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।