पीएनजीलाई पराजित गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि घरेलु टोली नेपालले जितेको छ । आज (सोमबार) भएको खेलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) नेपालसँग ५० रनले पराजित हुन पुग्यो ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले करण केसी ३३ रनमा नट आउट रहे । त्यस्तै आसिफ शेख २९ रन बनाई आउट भए भने कुशल भुर्तेलले २५ रन जोड्दा आदील आलमले १५ रन बनाए । पीएनजीको लागि सेमो कामेअले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरे र राइले हेकुरेको भागमा समान १-१ विकेट रह्यो ।



१६९ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउदै ११८ रनमा समेटियो । पीएनजीको लागि सेसे बाउले ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै चार्ल्स अमिनीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने करण केसीको भागमा २ विकेट रहँदा कप्तान सन्दीप लामिछानेको भागमा २ विकेट रह्यो ।

नेपालले आज पीएनजीलाई पराजित गर्दै एकदिवसीय सिरिजको बदला लिएको छ । यसअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पाहुना टोली पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो । घरेलु टोली नेपाल समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा ४ जित निकाल्दै ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने ४ खेलमा १ जित र ३ हारसहित पीएनजी उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पीएनजीले मलेसियालाई रनरेटमा पछि पार्दै नेपालसँगको भेट पक्का गरेको हो । मलेसियाले पनि ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको थियो । समूह चरणको दुवै खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा १५ रनले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरेका थिए ।

 

सम्बन्धित समाचार