नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवाद पराजित भएको छ । सोमबार राति भएको खेलमा हैदरवाद लखनउ सुपर जायन्टसँग १२ रनले पराजित हुन पुग्यो । यो लखनउको दोस्रो जित हो भने हैदरवादको लगातार दोस्रो हार हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुल र दिपक होडाले अर्धशतकीय पारी खेल्दै क्रमश: ६८ र ५१ रन बनाए । हैदरावादका लागि वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले समान २-२ विकेट लिए ।
१७० रनको लक्ष्य लिएर मैदान उत्रेको हैदरवादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५७ रन मात्र बनाउन सक्यो । हैदरवादका लागि राहुल त्रिपाठीले ४४ रन बनाए भने निकोलस पुरणले ३४ रन जोडे । त्यस्तै वासिङ्गटन सुन्दरले १८ रन बनाउनु अन्यको प्रदर्शन उल्लेखनिय रहेन । लखनउका लागि आभेस खानले ४ विकेट लिए भने जेसन होल्डरले ३ विकेट लिँदा कुर्नाल पाण्डयाको भागमा २ विकेट रह्यो । लखनउ ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा छ भे २ खेलमा अंकविहिन रहेको हैदरावाद तालिकाको पुछारमा रहेको छ ।