नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्स बैंगलोरसँग ४ विकेटले पराजित हुन पुग्यो । यो बैंगलोरको दोस्रो जित हो भने राजस्थानको पहिलो हार ।
मुम्बईको वान्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।राजस्थानका लागि जस बट्लरले अविजित रहँदै ७० रनको अर्धशतकीय पारी खेले भने शिम्रन हिटमायर ४२ रनमा नटआउट रहे । त्यस्तै अविजित देवदत पडिकल ३७ रन बनाई आउट भए भने सन्जु स्याम्सनले ८ रन जोडे । बैंगलोरका लागि डेभिड विलि, वानिन्दु हसरंगा डा सिल्भा र हर्सल पटेलले समान १-१ विकेट लिए ।
१७० रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाउदै पूरा गर्यो । बैंगलोरको लागि शाहबाज अहमेदले ४५ रन बनाए भने दिनेश कार्तिक ४४ रनमा अविजित रहे । यस्तै कप्तान फाप डु प्लेसिस २९ बनाई आउट भए भने अनुज रावतले २६ रन जोडे ।
राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समान २-२ विकेट लिए । जितसँगै बैंगलोर ३ खेलमा ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाईट राइडर्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।