नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो । कोलकाताको यो तेस्रो जित हो भने मुम्बईको लगातार तेस्रो हार ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेले भने तिलक वर्मा ३८ रनमा अविजित रहँदा किरण पोलार्ड २२ रनमा नटआउट रहे । त्यस्तै दिवाल्ड ब्रेभिस २९ रन बनाई आउट भए भने इशान किशनले १४ रन जोडे । कोलकाताका लागि प्याट कमिन्सले २ विकेट लिए भने उमेश यादव र वरुण चक्रवर्तीको भागमा समान १-१ विकेट रह्यो ।
१६२ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । कोलकाताको लागि प्याट कमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेल्दै क्रमश: ५६ र ५० रन बनाए भने स्याम बिलिंग्सले १७ रन बनाए । मुम्बईका लागि मुरुगान आश्विन र ट्यामल मिल्सले समान २-२ विकेट लिए लिए भने ड्यानियल स्याम्सको भागमा १ विकेट रह्यो । जितसँगै कोलकाता ४ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ३ खेलमा अंकविहिन रहेको मुम्बई तालिकाको नवौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।