नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १४९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले भने कप्तान ऋषव पन्त ३९ र सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका लागि रवी बिशोईले २ विकेट लिए भने कृष्नपा गौतमको भागमा १ विकेट रह्यो ।
१५० रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाउदै पूरा गर्यो । लखनउको लागि क्विन्टन डी ककले ८० अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले २४ रन बनाए । यस्तै कुर्नाल पाण्डेय १९ रनमा अविजित रहे । दिल्लीका लागि कुलदिप यादवले २ विकेट लिए भने शार्दुल ठाकुर र मुस्तफिजुर रहमानको भागमा समान १-१ विकेट रह्यो । जितसँगै लखनउ ४ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने ३ खेलमा २ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किङस र गुजरात टाइटन्स भिड्दै छन् ।