नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा चेन्नई सुपर किङ्स हैदरावादसँग ८ विकेटले पराजित भयो भने दोस्रो खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्यो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन बनाएको थियो । चेन्नईका लागि मोइन अलीले ४८ रन बनाए भने अम्बाती रायडुले २७ र कप्तान रविन्द्र जडेजाले २३ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । हैदरावादका लागि टि नटराजन र वासिङ्गटन सुन्दरले समान २-२ विकेट लिए ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदरावादले १७ ओभर ४ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । हैदरावादका लागि अभिषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले भने राहुल त्रिपाठी ३९ रनमा अविजित रहँदा कप्तान केन विलियम्सनले ३२ रन बनाए । चेन्नईका लागि मुकेश चौधरी र ड्वायन ब्राभोले समान १-१ विकेट लिए । प्रतियोगितामा यो हैदरावादले पहिलो जित हो भने चेन्नईको लगातार चौथों हार । हैदरावाद ३ खेलमा २ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने अंक जोड्न नसकेको चेन्नई पुछारमा रहेको छ ।
त्यसैगरी शनिबार भएको अर्को खेलमा बैंगलोरले तेस्रो जित निकालेको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स बैंगलोर सँग ७ विकेटले पराजित हुन पुग्यो । पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५१ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्मा र इशान किशनले समान २६-२६ रन बनाए । बैंगलोरका लागि हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले समान २-२ विकेट लिए ।
१५२ रनको लक्ष्य लिएर मैदान उत्रेकोबैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउदै पूरा गर्यो । बैंगलोरको लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ४८ रन बनाए । मुम्बईका लागि जयदेव उनादकट र डेवाल्ड ब्रेभिसले समन १-१ विकेट लिए । प्रतियोगितामा मुम्बईको यो लगातार चौंथो हार हो । जितसँगै बैंगलोर ४ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान ४ खेलमा अंक जोड्न नसकेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले र दिल्ली क्यापीटल्स आमने सामने हुनेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।