नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । सोमबार राति भएको खेलमा हैदराबादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । प्रतियोगितामा हैदराबादको यो दोस्रो जित हो भने गुजरातको पहिलो हार ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६२ रन बनाएको थियो । गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५० रनमा अविजित रहे भने अभिनव मनोहरले ३५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार र टी नाटराजनले समान २-२ विकेट लिए ।
१६३ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । हैदराबादको लागि कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले ४२ रन बनाए । यस्तै निकोलस पुरण ३४ र एडेन मार्कम्यान १२ रनमा अविजित रहे । गुजरातका लागि हार्दिक पाण्डेय र राशिद खानले समान १-१ विकेट लिए ।
जितसँगै हैदराबाद ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने समान खेलमा ३ जित र १ हार सहित ६ अंक जोडेको गुजरात पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।