नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट चेन्नई सुपर किङ्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले पराजित गरेको हो । चेन्नईको जारी सिजनमा यो पहिलो जित हो भने बैंगलोरको दोस्रो हार ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएको थियो । चेन्नईका लागि शिबम दुबेले अविजित रहँदै ९५ रनको अर्धशतकीय पारी खेले भने रोबिन उथप्पाले ८८ रन बनाए । बैंगलोरका लागि वानिन्दु हसरंगा डी सिल्भाले २ विकेट लिए भने जोश हाजलउडको भागमा १ विकेट रह्यो ।
२१७ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १९३ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि शाहबज अहमेदले ४१ रन बनाए भने सुयश प्रभुदेशाईले ३४ रन जोडे । यस्तै दिनेश कार्तिक ३४ रन बनाई आउट भए भने ग्लेन म्याक्सवेलले २६ तथा महमद सिराज १४ रनमा अविजित रहे । चेन्नईका लागि महेश थिक्सनाले ४ विकेट लिए भने रविन्द्र जडेजाको भागमा ३ विकेट रह्यो ।
जितसँगै चेन्नईले ५ खेलमा २ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ भने ५ खेलमा ६ अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र पन्जाब किङ्स भिड्दै छन् ।