नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्स लखनउसँग १८ रनले पराजित भयो भने बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १९९ रन बनाएको थियो । लखनउका लागि केएल राहुलले अविजित रहँदै १०३ रनको शतकीय पारी खेले भने क्विन्टन डी ककले २४ र मनिष पाण्डेले ३८ रन बनाए । मुम्बईका लागि जयदेव उनाडकटले २ विकेट लिए ।
२०० रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८१ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले ३७ रन बनाए भने डिवल्ड ब्रेभिसले ३१ रन जोडे । त्यस्तै तिलक वर्मा २६ रन बनाई आउट भए भने केइरन पोलार्डले २५ रन बनाए । लखनउका लागि अभेस खानले ३ विकेट लिए । मुम्बईको यो लगातार छैटौं हार हो भने लखनउको चौथों जित । जितसँगै लखनउ ६ खेलमा ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने अंक विहीन रहेको मुम्बई पुछारमा रहेको छ ।
त्यसैगरी आईपीएल अन्तर्गत नै शनिबार राति भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १८९ रन बनाएको थियो । बैंगलोरका लागि दिनेश कार्तिक र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेल्दै क्रमश: ६६ र ५५ रन बनाए भने शाहबाज अहमेदले ३२ रन जोडे । दिल्लीका लागि शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले समान १-१ विकेट लिए ।
१९० रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले भने कप्तान ऋषव पन्तले ३४ रन बनाए । यस्तै पृथ्वी श १६ रन बनाई आउट भए भने मिचेल मार्शले १४ रन जोडे । बैंगलोरका लागि जोश हाजलउडले ३ विकेट लिए भने मोहमद सिराजको भागमा २ विकेट रह्यो ।
जितसँगै बैंगलोर ६ खेलमा ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक जोडेको दिल्ली आठौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावाद भिड्दै छन् भने दोस्रो खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स आमने सामने हुने छन् ।