हैदरावाद र गुजरात विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावाद र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा पन्जाब किङ्स हैदरावादसँग ७ विकेटले पराजित हुन पुग्यो भने गुजरातले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १५१ रनमा समेटिएको थियो । पन्जाबका लागि लियम लिभिङस्टोनले ६० रनको अर्धशतकीय पारी खेले भने शाहरुख खानले २६ रन बनाए । हैदरावादका लागि उमरान मलिकले ह्याट्रिकसहित ४ विकेट लिए भने भुवनेश्वर कुमारको भागमा ३ विकेट रह्यो । मलिकले १९ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।



हैदरावाद

१५२ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाउदै पूरा गर्यो । हैदरावादको लागि एडिन मार्कम्यानले अविजित रहँदै ४१ रन जोडे भने निकोलस पुरन ३५ रनमा नटआउट रहे । त्यस्तै राहुल त्रिपाठी ३४ रन बनाई आउट भए भने अविषेक शर्माले ३१ रन जोडे । पन्जाबका लागि राहुल चाहरले २ विकेट लिए भने कागिसो रबडाको भागमा १ विकेट रह्यो । प्रतियोगितामा हैदरावादको यो चौंथो जित हो । जितसँगै हैदरावाद ६ खेलमा ८ अंक जोड्दै चौथों स्थानमा उक्लिएको छ भने ६ खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा झरेको छ ।

पन्जाब किङ्स

त्यसैगरी आईपीएल क्रिकेट अन्तर्गत नै आइतबार राति भएको दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ । गुजरातको यो पाँचौ जित हो भने चेन्नईको पाँचौं हार । पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजा २२ रनमा अविजित रहे । गुजरातका लागि अल्जारी जोसेफले २ विकेट लिए भने मोहमद शामी र यश दयालको भागमा समान १-१ विकेट रह्यो ।

गुजरात टाइटन्स

१७० रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाउदै पूरा गर्यो । गुजरातको लागि डेभिड मिलरले अविजित रहँदै ९४ रनको अर्धशतकीय पारी खेले भने कप्तान राशिद खानले ४० रन जोड्दा अभिनव मनोहरले १२ रन बनाए । चेन्नईका लागि ड्वायन ब्राभोले ३ विकेट लिए भने महेश थिकसनाको भागमा २ विकेट रह्यो । जितसँगै गुजरात ६ खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ६ खेलमा २ अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै छन् ।

चेन्नई सुपर किङ्स

गुजरात

सम्बन्धित समाचार