नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइ सुरु हुने भएको छ । आज (बुधबार)रिट निवेदनको सुनुवाइ सुरु हुने भएको हो ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता समृत खरेल लगायतले सर्वोच्च अदालतमा २०७७ मंसिर १ गते रिट निवेदन दिएका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति गरेका थिए । रिट निवेदनमा संविधानको मर्म विपरीत अध्यादेशमार्फत संसदीय सुनुवाइसमेत नगरी गरिएका नियुक्तिहरू खारेज गर्न माग गरिएको छ । संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ । सर्वोच्चले लामो समयसम्म हेर्न नभ्याउनेमा राखेको उक्त रिट अब नियमित पेसीमा राखेर सुनुवाइ गर्ने तयारी भएको छ ।
यो पनि पढ्नुस :