नेपाल केन्यासँग चौथों खेल खेल्दै

केन्या टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्ध चौथों टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ । आज (सोमबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।

केन्याविरुद्ध नेपालले पाँच खेलको टी-२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल आज केन्यालाई पराजित गर्दै सिरिजमा तेस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली केन्या पनि नेपाललाई हराउदै सिरिजमा दोस्रो जित निकाल्ने सुरमा रहेको छ ।



बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले पराजित गर्दा शुक्रबार भएको दोस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १८ रनले हराएको थियो । त्यस्तै आइतबार भएको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको थियो । पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ । आज चौथों टी-२० खेल खेल्न लागेको नेपालले पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

सम्बन्धित समाचार