केन्याविरुद्धको टी-२० सिरिज नेपाललाई

घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । मंगलबार भएको पाँचौ तथा अन्तिम टी-२० खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय पारी खेले भने रोहित पौडेलले ४७ रन बनाए । त्यस्तै अर्जुन साउद २९ रनमा बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे । केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले समान २-२ विकेट लिए भने लुकास ओलुओचको भागमा १ विकेट रह्यो ।



केन्याविरुद्धको टी-२० सिरिज नेपाललाई

१७६ रनको लिएर मैदान उत्रेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले ३७ रन बनाए भने कप्तान शेम एन्गोचे ३३ रनमा अविजित रहे । यस्तै इरफान करिमले २८ रन बनाई आउट भए भने कोलिन्स ओबुयाले २३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे । नेपालका लागि सन्दीप लामिछाने र वसिर अहमदले समान २-२ विकेट लिए भने करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १८ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा केन्यालाई ४ विकेटले हराएको नेपाल चौथों खेलमा भने केन्यासँग ७ रनले पराजित भएको थियो । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

सम्बन्धित समाचार